जनकपुरधाम- कोरोना संक्रमणको दोस्रो लहरले हरेक वर्ग समुदायलाई प्रभावित गरेको छ। कोरोना संक्रमणको चेनलाई ब्रेक गर्न मुलुकका अधिकांश जिल्लामा निषेध आदेश छ। निषेध आदेशका कारण विपन्न र दैनिक ज्यालादारीमा मजदुरी गर्ने सबैभन्दा बढी प्रभावित भएका छन्। त्यसमा पनि मागेर दुई छाकको जोहो गर्नेहरुका लागि निषेध आदेश अभिशाप बनेर आएको छ।
स्थानीय प्रशासनले धनुषामा जारी गरेको निषेध आदेश जेठ १० गतेसम्म लम्बिने भएपछि त्यस्ता व्यक्तिहरु भोकै दिन कटाउने बाध्यतामा पुगेका छन्। जनकपुरधाममा मागेर खानेलाई वसोवासका लागि खासै समस्या छैन, समस्या छ त केबल खानामा।
जनकपुरधाम-७ स्थित नगरभन्दा ३ किलोमिटर बाहिर रहेको जमिरिया देवी धर्मशालामा कुष्ठरोगी तथा भिख माग्नेहरुका लागि भवन बनाइएको छ। जहाँ २० वटा कोठा छन्। जमिरिया देवी भनिने एक महिलाले जनकपुरधाममा रहेका कुष्ठरोगीहरु तथा भिख माग्नेहरुलाई वासका लागि समस्या नहोस् भन्ने उद्देश्यले सो भवन निर्माण गराउन लगाएकी थिइन्। उनकै नाममा रहेको सो धर्मशालामा अहिले बालबालिका गरि २० जना कुष्ठरोगी तथा भिख माग्नेहरुको बसोवास छ।
जीर्ण भवनमा बसोवास गर्दै आएका उनीहरुका लागि निषेध आदेशका कारण वासभन्दा पनि खानाको व्यवस्था गर्नु ठूलो चुनौती बनेको छ। गत वर्ष कोरोना संक्रमणकै कारण भएको लकडाउनको समयमा विभिन्न दाता तथा स्थानीय सरकार, प्रदेश सरकारले राहत बाँडेकोले समस्या भएको थिएन। तर यस पटकको निषेध आदेशमा कोही पनि सहयोग गर्न नआएको परिवारसँगै धर्मशालामा बस्दै आएका सुरेश सदाले दुखेसो गरे।
निषेध आदेश नहुँदा उनी प्लाष्टिक जम्मा गरेर कबाडमा बिक्री गर्थे। दिनभरि जम्मा गरेको प्लाष्टिक बिक्री गर्दा जम्मा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म कमाइ हुन्छ। सदाले जम्मा गर्ने प्लाष्टिक कबाडमा गएर बिक्री गर्दा जम्मा ३० रुपैयाँको किलो बिक्री हुन्छ। सदाले भने ‘दिनभरिमा ६० रुपैयाँसम्म कमाई हुन्थ्यो, निषेध आदेशपछि त्यो कमाइको माध्यम पनि बन्द भएको छ।’
४० वर्षीय सदाको घरमा श्रीमती, भान्जी र बहिनी छन्। श्रीमती अशक्त छन्। ‘मेरो कमाइले केही हुनेबाला छैन त्यसैले शरीरले अशक्त श्रीमती पनि भिख माग्न बाहिर जान्थिन्।’ उनले भने ‘दुवै जनाले दिनभरिको परिश्रमबाट कमाएर ल्याएको रुपैयाँबाट नै घर चल्थ्यो, तर निषेध आदेशका कारण हातमुख जोर्ने माध्यम नै बन्द भएको छ।’
त्यहीँ वास गर्ने बेचन मण्डलको सदाको भन्दा कम्ती समस्या छैन। उनले केही दिन अगाडि मात्रै आफ्नी १०० वर्षीया आमालाई गुमाएका छन्। आमाको किरिया बसेका उनलाई आमा गुमाउदाको पीडा त छ नै अब हातमुख कसरी जोड्ने अर्को त्रास छ। उनले केही दिनअघि मात्रै १८ वर्षीय छोरो रामईश्वर मण्डललाई गुमाएका छन्। ‘छोरोलाई रक्सी खाने खराब बानी थियो त्यसैले लिभर खराब भएर उसको मृत्यु भयो’, बेचनले भने। ६ जनाको परिवार रहेको बेचनले २ जना सदस्यलाई गुमाइसकेका छन्।
कबाड़ीको काम गर्दै आएका बेचनको निषेध आदेशसँगै कमाइको माध्यम नै बन्द भयो।
‘दिनभरि कबाड जम्मा गरेर बेचन ५०० देखि ६०० सम्मको कमाइ गरिहाथेँ।’, सदाले भने ‘अब त त्यो बन्द भइहाल्यो कोही साहु भेटिए ऋण काढेर हातमुख जोर्नुपर्ला।’
गत वर्ष देशभर लकडाउन हुँदा विभिन्न संघ संस्थाबाट सहयोग पाएको उनी सम्झिन्छन्।
जमिरिया देवी धर्मशालामा भिख मागेर गुजारा चलाउने दुई वृद्धा जगतोरिया देवी र चाइना देवी वास बस्छन्। उनीहरुलाई पनि यो निषेध आदेशले अब के खाने समस्या परेको छ।
जगतोरिया उमेरले ७५ वर्ष काटीसकेकी छिन्, आवाज पनि उनको स्पष्ट छैन। ‘पेटले मान्दैन भिख मागेर पनि खाली पेट त भर्नै पर्छ।’ उनको गुनासो छ।
‘मेरो घरमा म एक्लै छु न श्रीमान छ, न सन्तान’, जगतोरियाले भनिन् ‘बन्दी भएपछि भिख माग्न पनि समस्या भइरहेको छ, भिख माग्न बाहिर निस्कियो प्रहरीले हामीलाई धपाउँछ कसरी खानाको जोहो गरुँ।’
उमेरले ४० कटेकी चाइना देवीको घरमा एक छोरा र एक छोरी छन्। उनीहरुको पेट पाल्नका लागि चाइनादेवीलाई दैनिक भिख माग्न निस्किनु पर्छ। तर अचेल टोलमा पनि कोरोनाको डरले घरको ढोकासम्म खोल्दैनन् चाइनाले दुखेसो पोखिन्। चाइनादेवीले भनिन् ‘हाम्रो अहिले कोही सहारा छैन, बाबु हाम्रो लागि केही व्यवस्था गरिदिनुस् न धर्म लाग्छ।’
जमिरिया देवी धर्मशालामा वास बस्नेहरुको पीडाबाट आफू अनभिज्ञ नरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले बताए। उनले निषेध आदेश लम्बिँदै गयो भने उनीहरुलाई निक्कै समस्या हुने बताए। वडाध्यक्ष साहले भने ‘निषेध आदेश लम्बिदै गयो भने वडाबाटै भए पनि उनीहरुका लागि राहत उपलब्ध गराउने छु।’