काठमाडौं - जेठ २२ देखि २५ सम्म काठमाडौंमा हुने भनिएको राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। अध्यक्षत्रयसहित आज बसेको बैठकले कोभिड-१९ महामारी भयावह बन्दै गएको भन्दै महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने राप्रपाले जनाएको छ। साथै संक्रमितका लागि अस्पतालहरूमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आईसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कूटनीतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपाले सरकारसँग मागसमेत गरेको छ।
राप्रपाले भनेको छ, ‘कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण छ। नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न राप्रपा सरकारसँग जोडदार माग गर्दछ।’
साथै उसले कोभिड-१९ सँग जुधिरहेका आमजनताको सेवामा सुरक्षित रही परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई अपिलसमेत गरेको छ।
यस्तै बैठकले पार्टीको निर्देशन समिति पाँच दिनभित्र गठन गर्ने निर्णय पनि गरेको छ।