काठमाडौं - नेकपा एमालेले पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठन गर्ने भनेको कार्यदलको टुंगो आज लाग्ने भएको छ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आज कार्यदल गठन हुने संकेत गरेका छन्। ‘कार्यदल गठन गर्ने कुरो निश्चित भइसकेको छ। सम्भवतः आज कार्यदलका विषयमा अध्यक्ष र वरिष्ठ नेताले टुंगो लगाउनुहुन्छ,’ उनले भने, ‘त्यसपछि कार्यदलले काम अघि बढाउँछ।’
अदालतको फैसलाअनुसार विवाद मिलाउने विषयमा सिद्धान्त मोटो कुराकानी भएको भन्दै उनले कसरी कहाँ के भन्ने कुरा कार्यदलले नै टुंग्याउने बताए।
बिहीबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल गठन गरेर समाधान गर्ने समझदारी भएको थियो।
शुक्रबार पुनः दुई अध्यक्षले आफू निकटका नेताहरूसमेत राखेर वार्ता गरेका थिए। कार्यदल गठन गर्ने जिम्मा दुई नेताहरूलाई नै दिइएको थियो।
वार्तामा पार्टीलाई फागुन २३ को अदालतको फैसलाअनुसार अगाडि बढाउने विषयमा कार्यदल गठन गरेर समाधान निकाल्ने सहमति भएको थियो।
एमाले स्रोतका अनुसार विष्णु पौडेलको संयोजकत्वमा दुवै पक्षका पाँच–पाँच जना रहने बताइएको छ। ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल रहने निश्चित भइसकेको छ। दुई जनाको नाम तय हुन बाँकी छ।
उता माधव नेपाल पक्षले भने कार्यदलमा रहने सदस्यहरूको नाम टुंगो लगाइसकेको छ। केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले आफूहरूको पक्षबाट कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने जानकारी दिए।
एमालेको माधव-झलनाथ पक्षले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने र फागुन २८ यता भएका सबै निर्णय खारेज गर्नुपर्ने माग राखेको छ।