विराटनगर - आपसी विवादका क्रममा छुरा प्रहार गरेर मोरङ लेटाङमा शुक्रबार राति एक युवाको हत्या गरिएको छ।
लेटाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको छुरा प्रहारबाट मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।
राईका अनुसार लेटाङ-३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले राति ८ः४५ बजेतिर राेमनमाथि छुरा प्रहार गरेका हुन्।
लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद राेमनसँग भएको थियो। विवादकै क्रममा दुईजनाले छुरा प्रहार गरेको जानकारी डीएसपी राईले दिए।
घाइतेलाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै बाटैमा राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लेटाङको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ।
प्रहरीका अनुसार हत्या गरिएका राेमन लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे। ट्याक्टरलगायतका ढुवानीका साधनको खोजी गरेर ढुंगा, बालुवासमेत निर्माण सामग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम पनि उनले गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।