विराटनगर - मोरङमा थप सात काेराना संक्रमितको मृत्यु भएको छ। उनीहरूको मृत्यु शुक्रबार साँझदेखि शनिबार बिहानसम्ममा भएको हो।
कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा एक महिलासहित तीनजनाको मृत्यु भएको छ। मोरङको उर्लाबारी नगरपालिका-७ की ५८ वर्षीया महिलाको शनिबार बिहान २ बजेतिर मृत्यु भएको छ।
केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार संक्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि वैशाख २३ गते भर्ना गरिएको थियो।
विराटनगर-१० का ७७ वर्षीय पुरुषको पनि कोशीमै शुक्रबार राति मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि वैशाख २५ गते भर्ना गरिएका वृद्धमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी राजवंशीले दिए। विराटनगर–९ का ६७ वर्षीय वृद्ध पुरुषको पनि राति नै उपचारका क्रममा कोशीमा मृत्यु भएको छ।
नोबेल शिक्षण अस्पताल विराटनगरमा विराटनगर–१ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचारकै क्रममा उनको बिहान ५ः२५ बजेतिर मृत्यु भएको हो। विराटनगर–८ का ६४ वर्षीय पुरुषको शुक्रबार राति १०ः१५ बजेतिर नोबेलमै मृत्यु भएको छ ।
विराटनगर–५ की ५२ वर्षीया महिलाको पनि नोबेलमै उपचारका क्रममा ज्यान गएको छ। उनको राति १२ः४५ बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए।
विराट शिक्षण अस्पतालमा सप्तरी घर भएका कोरोना संक्रमित ५३ वर्षीय पुरुषको शुक्रबार साँझ मृत्यु भएको छ।