काठमाडौं– नेपालमा वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन्। वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा शुक्रबार चार हजार ६६९ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट २०३ ले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। वैशाख १ गते तीन संक्रमितको मृत्यु भएको थियो। वैशाख १४ गते एकै दिन १८ जनाको मृत्यु भएको थियो।
यस्तै वैशाखमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। १ गतेसम्म संक्रमितको संख्या तीन लाख सात हजार ९२५ थियो। सो संख्या बढेर शुक्रबार चार लाख ३९ हजार ६५८ पुगेको छ। एक महिना अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन्।
वैशाख १ गते एकै दिन कोरोनाबाट ६०३ जना संक्रमित भएकामा शुक्रबार एकै दिन संक्रमितको संख्या आठ हजार ५२० पुगेको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पीसीआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। वैशाख १ गतेसम्म पीसीआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने शुक्रबार सो संख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ। वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको छ।
वैशाख महिनामा कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ४७ छ। कोरोना भाइरसबाट शुक्रबारसम्म मुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ। उक्त संख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो। पछिल्लो २४ घण्टामा देशभर छ हजार १३५ संक्रमित निको भएर घर फर्किएका छन्। सक्रिय संक्रमितको संख्या देशभर ह्वात्तै बढेको छ। वैशाख १ गते सक्रिय संक्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त संख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर एक हजार ७०५ संक्रमिमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। एक हजार ३३४ संक्रमितको आईसीयूमा तथा ३७१ संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ।
काठमाडौंमा उपत्यकामा संक्रमित ह्वात्तै बढे
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। वैशाख १ गते उपत्यकामा संक्रमितको संख्या २५४ थियो। सो संख्या हाल बढेर तीन हजार ३४९ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा दुई हजार ४५८, ललितपुरमा ५५६ तथा भक्तपुरमा ३३५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।