काठमाडौं– प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले पदबहाली गरेकै दिन केही न केही नयाँ कुरा बोल्छन् भन्ने सबैको आस हुन्छ। हुन त मन्त्री वा नेताले बोलेका कुरा व्यवहारमा रत्तिभर पनि कार्यान्वयन नभएका धेरै उदाहरण छन्। तर पनि उनीहरु बोल्थे।
जस्तो– केपी ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री हुँदा देशभरबाट तुइन उन्मूलन गर्ने घोषणा गरेका थिए। तर दुरदराजका मानिस अझै पनि तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। खोज्दै जाने हो भने यस्ता उदाहरण अनगिन्ती छन्।
शुक्रबार पनि प्रधानमन्त्री केपी शर्मा ओली लगायत धेरैले पदबहाली गरे। भिन्न के थियो भने नवनियुक्त मन्त्री अघिल्लो दिनसम्म बसिरहेको कुर्सीमै गएर बसे। सँगै काम गरिरहेका सचिव लगायत मन्त्रालयका उच्च अधिकारीबाट गेटैदेखि फूलमाला र स्वागत पाए।मन्त्रीहरुले सचिवलाई निर्देशन दिने परम्परा पनि कायमै राखे।
तामझामपूर्वक पदबहाली भएका मन्त्रीले केही त बोल्नु नै थियो। कोरोना महामारीले आक्रान्त भएका नागरिकसामु उनीहरुसामु बोल्ने नयाँ कुरा पो के थियो र! अनि पुरानै आश्वासन दिए– महामारी नियन्त्रणमा सरकार सक्रियतापूर्वक लाग्नेछ।
दुई तिहाइ बहुमतको ओली नेतृत्वको सरकारले यसअघि पनि धेरै आश्वासन बाँड्दै आएकै हो। अब ३० दिनपछि के हुने हो भन्ने अवस्थामा पदबहाली गरेका मन्त्रीहरुले पनि पुरानै कुरा दोहोर्याए। प्रधानमन्त्री केपी ओलीले कार्यभार सम्हाल्दै भने, ‘कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन दिइने छैन।’ उनले राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरे।
उपप्रधानमन्त्रीमा नियुक्त भएका ईश्वर पोखरेलले पनि सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताए। उनले भने, ‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं’
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले भने कोरोना संक्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्तास्वरूप प्रति शव एक हजार दिइने निर्णय गरे।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पनि कोरोना महामारीविरुद्धमा तत्काल जुट्न मातहतका निकायलाई निर्देशन दिएर पदभार ग्रहण गरे। उनले भने, ‘कोरोनाले नागरिकहरु दिनहुँ मर्न थालेका छन्, हामीले कोरोना नियन्त्रण तथा रोकथाम गर्नमा जे जस्तो सक्छौं, तत्काल जनशक्ति त्यसैमा लगाउनुस्, बाँकी काम गर्दै गरौंला।’
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संवत् २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुंगोमा पुगिने बताए।