धनगढी- धनगढीका कोरोना संक्रमितलाई लक्षित गर्दै आकस्मिक एम्बुलेन्स सेवा सुरु गरिएको छ।
रोयल कोल्याबोरेटिभ्स् धनगढीले उप-महानगर क्षेत्रका कोरोना संक्रमितलाई अस्पतालमा पुर्याउन आकस्मिक एम्बुलेन्स सेवा सुरु गरेको हो।
धनगढीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा एम्बुलेन्स सेवाको समस्या हुने देखिएकाले ६ वटा पेट्रोल अटो र एउटा जिपमार्फत् सशुल्क र निशुल्क सेवा सुरु गरिएको रोयल कोल्याबोरेटिभ्सले जनाएको छ।
हामीले सशुल्क सेवा सुरु गरेका छौं रोयल कोल्याबोरेटिभ्सका संस्थापक सदस्य देवेन्द्र जोशीले भने, ‘आर्थिक अवस्था कमजोर भएका संक्रमितको हकमा भने हामीले रकम दिन्छौँ।’ सक्नेले दिनुहोला, नसक्नेले नदिँदा हुन्छ जोशीले भने, ‘एम्बुलेन्स अभावमा ज्यान गुमाउन नपरोस् भनेर हामीले सेवा सुरु गरेको छौ, यसले कोरोना संक्रमितलाई ठूलो राहत पुग्छ।’ उनले कोरोना संक्रमितलाई सुरक्षित भएर अस्पताल पुर्याउनका लागि अटो चालकहरूलाई सामान्य प्रशिक्षण दिएको बताए।
धनगढी उप-महानगरपालिकासँगको साझेदारीमा रोयल कोलाबोरेटिभ्स्ले सेवा सुरु गरेको अध्यक्ष गजेन्द्र शाहीले बताए। ‘जिपमा दुईवटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेका छौं’ शाहीले भने, अक्सिजन सिलिण्डरको जोहो गरिरहेका छौँ, पाए अटोमा पनि अक्सिजनको व्यवस्था गर्छौँ। जटिल बिरामीलाई अक्सिजनसहितको जिप दिन्छौँ। सामान्य अवस्थाको बिरामीलाई अटो प्रयोग गर्छौ।’ शाहीले भने, ‘जसरी पनि संक्रमितहरुलाई समयमै अस्पताल पुर्याउने हाम्रो लक्ष्य हो।’
शाहीले अटोमार्फत् सेवा लिनका लागि ९८०४६५५२९०९, ९८१०२०१५६५,९८१२६५४०९९, ९८१४६४१०८२, ९८२३५२६२८४, ९८१८४७८३३० मा सम्पर्क गर्न आग्रह गरे।
उनले रोयल कोल्याबोरेटिभ्सले धनगढी उप–महानगरपालिकाको प्राङ्गणमा कोभिड–१९ हेल्थडेस्क सञ्चालनमा ल्याएको बताए। उनले हेल्थ डेस्कबाट अत्यावश्यक औषधिका साथै आवश्यक सुझाव र सल्लाहसमेत दिने बताए।
उनले गत वर्ष कोरोना महामारीको समयमा घरघरमा औषधि पुर्याउने र सीमा क्षेत्रमा निशुल्क खाना खाना खुवाउने काम गरेको बताए।