काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको बढ्दो संक्रमण न्यूनीकरणका लागि सहयोग गर्न मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई आग्रह गरेका छन्।
शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै देउवाले नेपाल सरकारसहित मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका हुन्।
उनले भनेका छन्, ‘यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरि दिन हुन पनि अपील गर्दछु।’
देउवाले भविष्यमा आइपर्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोपलगायतका औषधिको व्यवस्था गर्न सरकारसाग माग गरेका छन्।
उनले भनेका छन्, कोभिड-१९ को संक्रमणले उग्र रुप लिइरहेको छ। देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टीलेटरसहितका आईसीयू बेड र औषधिको नितान्त अभाव भइसकेको छ। सुदूरपश्चिमलगायतका दुर्गम स्थानहरु र देशभरिमा नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ।’
साथै देउवाले यस्तो अवस्थामा पनि सकरार गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाएका छन्।
देउवाले यस विषम घडीमा सबै दिदीबहिनी, दाजुभाइमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न पनि अनुरोध गरेका छन्।
उनले देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपिल गरेका छन्।