काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आम निर्वाचनका लागि तयारी अबस्थामा रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन्।
नेपाली जनसम्पर्क समिति साउदी अरबको दोस्रो अधिवेशनको शुक्रबार उद्घाटनका अवसरमा भर्चुअल सम्बोधन गर्दै उपसभापति निधिले यस्तो आह्वान गरेका हुन्। उनले ढिलोचाँडो चुनाव हुने भन्दै मंसिरमा त्यसको बलियो सम्भावना रहेको उल्लेख गरे। निर्वाचन आयोगले घोषणा गरेपछि मात्रको तयारीले नपुग्ने भएकाले अहिलेदेखि नै निर्वाचनको लागि तयार हुनुपर्ने निधिको भनाइ थियो।
गत निर्वाचनमा लोकतन्त्र, संघीयता र समावेशितामा विश्वास नगर्ने कम्युनिष्ट पार्टीलाई जनताले मत दिएका कारण परिवर्तनका ती एजेण्डा धरापमा परेको भन्दै उनले आगामी निर्बाचनमा कांग्रेसको पक्षमा मत दिएर ती एजेण्डलाई संस्थागत गराउनु पर्नेमा जोड दिए। निधिको प्रश्न थियो, यस्तो भाँडभैलो गर्ने पार्टीलाई पनि तपाईहरु फेरि भोट दिनुहुन्छ?
आगामी भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनबाट आउने नेतृत्वले परिवर्तनका ती एजेण्डलाई संस्थागत गर्ने उपसभापति निधिको भनाइ थियो। पार्टीको विधानअनुसार १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद एक वर्ष थप गरिएको समय सकिएपछि संविधानअनुसार ६ महिना थप गरिएको समय आगामी भदौ २० मा सकिने भएकोले त्यसअघि नै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको जानकारी गराए।
महाधिवेशनमा मताधिकार प्रयोग गर्न पाउने तर उम्मेद्वार बन्न नपाउने व्यवस्था संशोधन गर्नुपर्ने भन्ने जनसम्पर्क समितिका सदस्यहरुको मागप्रति आफू सकारात्मक भएको भन्दै उपसभापति निधिले त्यसको उचित समाधान निस्कने बताए। जनसम्पर्क समिति साउदीका निर्वाचित पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरुलाई बधाई दिँदै निर्वाचनका बेला नेपालमा आएर कांग्रेसका पक्षमा माहोल बनाउनका लागि पनि आग्रह गरे।