सुर्खेत- नियुक्त भएको ३ दिन वितिसक्दा पनि कर्णाली प्रदेशका ३ जना मन्त्रीले शपथ लिन र जिम्मेवारी पाउन सकेका छैनन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री बिन्दमान बिष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री सीताकुमारी नेपालीले शपथ र जिम्मेवारी पाउन नसकेका हुन्।
सत्ता समीकरणमा संकट आएपछि मुख्यमन्त्री शाहीले तत्कालका लागि ३ जना मन्त्रीलाई शपथ र जिम्मेवारी नदिने भएका हुन्। मुख्यमन्त्रीले हाललाई ४ वटा (आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद, जलस्रोत तथा उर्जा विकास र सामाजिक विकास) मन्त्रालय आफैंसँग राखेका छन्।
नेपाली कांग्रेसले सरकारमा सहभागी हुनका लागि २ मन्त्रालय मागेपछि मुख्यमन्त्री संकटमा परेका छन्। वैशाख ३ गते मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस हालसम्म सरकारमा सहभागी भएको छैन। कांग्रेसले सम्मानजनक मन्त्रालय नपाएका कारण सरकारमा सहभागी नभएको बताउँदै आएको छ।
कांग्रेस सरकारमा सहभागी नभए प्रदेश सरकार स्वतः अल्पमतमा पर्छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा हाल ३५ जनामात्रै सांसद छन्। कर्णालीमा नयाँ सरकारका लागि कांग्रेस निर्णायक छ। प्रदेश सभामा एमालेका सभामुखसहित १६, कांग्रेसका ६, राप्रपाका १ र माओवादीका १२ जना सांसद छन्। सरकार गठनका लागि १८ जना सांसदको समर्थन आवश्यक पर्छ।