बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुठीको जग्गाका ३५ टहरामा डोजर चल्यो, सुकुमवासीको विचल्ली

गुठीको जग्गाका ३५ टहरामा डोजर चल्यो, सुकुमवासीको विचल्ली

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा गुठी संस्थानको जग्गा अतिक्रमण गरी बनाइएका ३५ वटा घरटहरा भत्काइएको छ। 
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

जनकपुरधाम- प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा गुठी संस्थानको जग्गा अतिक्रमण गरी बनाइएका ३५ वटा घरटहरा भत्काइएको छ। 

जनकपुरधाम उपमहानगरपालिका १२ कुवा रामपुरस्थित गुठी संस्थानअन्तर्गत रहेको राजदेवी मन्दिरको पोखरीको डिल अतिक्रमण गरी बनाइएका ३५ वटा घरटहरा भत्काइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए।

जग्गा अतिक्रमण गरी अवैध रुपमा बनाइएको घर टहरा खाली गराउन गुठी संस्थान धनुषाको सिफारिस र जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले डोजरले घर टहरा भत्काई अतिक्रमणमुक्त गराएको प्रहरी उपरीक्षक रानाभाटले बताए।

ती घरटहरा भत्काउने क्रममा प्रहरीमाथि स्थानीयवासीले ढुंगामुढासमेत गरेका थिए। स्थानीयले गरेको ढुंगामुढाले डोजरको सीसा फुटेर क्षति भएको छ भने डोजर चालकसहित दुई प्रहरीलाई समेत सामान्य चोट लागेको उनले जानकारी दिए। अवैध रुपमा बनाइएका घरटहरा भत्काउने अभियान जारी रहने प्रहरी उपरीक्षक रानाभाटले बताए।

प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरी परिचालन गरिएको थियो। अतिक्रमणमुक्त गराउने क्रममा अवरोध गर्दै प्रहरीमाथि हातपात प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

यता अवैध घरटहरा भत्काइएपछि दुई दर्जनभन्दा बढी स्थानीयको उठिवास नै भएको छ। कोरोना महामारीका बेला निषेध आदेशका बीच कहाँ जाने भन्दै उनीहरु विचल्लीमा परेका छन्। पीडितमध्येका एक बहादुर मुखियाले भने ‘हामी सुकुम्बासी हौँ वर्षौदेखि घर बनाएर बस्दै आएका थियौं, घर नै भत्काउनु थियो भने हामीलाई केही समय दिनु पथ्र्यो। तर गुठी संस्थानले त्यसो नगरी हाम्रो उठिबास गराइदियो।’ 

यता धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले गुठी संस्थान कार्यालय धनुषाबाट स्थानीय राजदेवी मन्दिरको पोखरी डिलमा अतिक्रमित जग्गा मुक्त गराउन सिफारिस भई निवेदन आएकोमा अतिक्रमण मुक्त गराइएको बताए।
उनले भने, ‘हामीलाई जग्गा अतिक्रमणमुक्त गराउन आवश्यक सहयोग गरिदिन आएको निवेदनको आधारमा सुरक्षाको दृष्टिकोणले प्रहरी परिचालन गरी अतिक्रमित जग्गा मुक्त गराएका हौँ।’ 

यद्यपि शक्ति र पहुँचवालाका घर नभत्काएर गरिब तथा विपन्नको घर तथा टहरा मात्रै भत्काइएको स्थानीयको आरोपमा प्रमुख जिल्ला अधिकारी वास्तोलाले अतिक्रमण मुक्त गराउन सुरक्षा मात्रै प्रदान गरिएको र कुन घर भत्काइयो र कुन बचाइयो यस विषयमा गुठी संस्थानलाई मात्रै थाहा हुने बताए। 

यसैबीच राजदेवी मन्दिरका महन्थ तुलसी गिरीले भने पोखरी डिलमा रहेका यी अतिक्रमणका कारण पोखरीसँगै रहेको अर्बौ मूल्य बराबरको गुठीको २२ विघा जग्गाको प्लट नै कब्जा हुन लागेको बताए।

प्रकाशित: May 14, 2021| 08:51 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।