काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमतिबारे आफ्नो समूहमा ब्रिफिङ गरेका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कार्यदल बनाएर विवाद टुंग्याउने सहमतिपछि नेपालले आन्तरिक छलफल गरेका हुन्। शीर्ष नेताहरुबीच जुममार्फत छलफल भइरहेको छ।
वरिष्ठ नेता नेपालले ओलीसँग भएको सहमतिबारे नेताहरुलाई ब्रिफिङ गरेको एक नेताले जानकारी दिए। साथै उनीहरुबीच भावी रणनीति बनाउने विषयमा पनि छलफल भइरहेको छ।
शीर्ष नेताहरूबीचको छलफलपछि केन्द्रीय सदस्यसित पनि छलफल गर्ने कार्यक्रम रहेको ती नेताले जानकारी दिए। अन्तिमसम्म राजीनामा दिने तयारीमा रहेको नेपाल खनाल समूहले बिहीबार ओलीसँग लिखित सहमति नगरेको भन्दै असन्तुष्टि पनि देखिएको छ।
नेपाल–खनाल पक्षले तीन दिनभित्र कार्यदलले काम सक्नुपर्ने बताएको छ। बिहीबार नै कार्यदल गठन गरेर विवाद समाधान गर्ने भनिएको थियो। तर अहिलेसम्म कार्यदलमा कोको रहने भन्ने औपचारिक सार्वजनिक भएको छैन।