काठमाडाैं - लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ। मृत्यु भएकामध्ये दाङका ६ र बाँकेका आठ छन्।
कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका–१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको हो।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका–२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने खजुरा गाउँपालिका–१ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए।
यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२२ पुगेको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ।
दाङमा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एकजना रहेका छन्। सोमध्ये पाँचको संस्थागत आइसोलेसन र एक होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएको हाे।