काठमाडाैं- हामीलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्ने मेण्डेट दिएका थिए। हाम्रो चाहना पनि त्यही थियो। तर कम्युनिस्ट पार्टीभित्र भएको अराजनीतिक, अलोकतान्त्रिक र मर्यदाहीन लुछाचुँडीले गर्दा देशको अवस्था तरल बन्दै गयो। राजनीतिक कुसंस्कार, भ्रष्टाचार, महँगी, कालोबजारी, बलात्कार, जस्ता जघन्य अपराध झन् झन् मौलाउँदै गए।
संविधान मिच्ने देखि संसद् विघटन गरेर जनमतको अपमान गर्ने सम्मको दुस्साहस ओली नेतृत्वको कम्युनिस्ट सरकारले गर्याे। उनीहरूको आन्तरिक लडाइँ र सत्ता हत्त्याउने खेलले देश बरबादीतिर धकेल्दै गएपछि नेपाली कांग्रेसले बारम्बार खबरदारी गर्दै आएको थियो। तर यो बेलासम्म आइपुग्दा उनीहरू आफ्नै कारणले नेतृत्वको विश्वास गुमाउन पुगे।
अर्कोतिर कोडिड महामारीले देश थिलथिलो हुँदा पनि जोखिम कम गर्न भ्याक्सिन उपलब्ध गराउन सकेन। कमिसनको खेल र अनियमितता गर्नेलाई कुनै कारबाही गर्न सकेन। स्वास्थ्य क्षमता वृद्धि गर्न सकेन। महामारी नियन्त्रण गर्न सकेन। सबै क्षेत्रमा चुकेको सरकार लम्पसार परेपछि कांग्रेससँग गुहार माग्दै आयो।
देश नेतृत्वविहीन हुन दिनु हुँदैन भनेर हामीले अग्रसरता देखायौं। हामीले आफूलाई कुनै उत्तेजक बनाएनौं। नेतृत्व लिनुपर्ने स्थिति आयो, हामीले पहल गर्याैं। परिस्थिति फरक बन्यो। जसपा र माधव नेपाल समूहले कुनै हिम्मत देखाउन सकेनन्। हामी लोकतान्त्रिक मूल्यमान्यताका आधारमा अघि बढिरहेका छौं। हामीले संयमता र नैतिकता गुमाएनौं।
नेपाली कांग्रेस संविधानप्रति प्रतिबद्ध छ। हामीसँग राजनीतिक संस्कार छ। लोकतन्त्र, संविधान र जनताका लागि जस्तोसुकै लडाइँ लड्न तयार छौं। हाम्रो लडाइँ सधैं विवेकपूर्ण र संयमित हुन्छ। हामीले हारेका छैनौं। (कांग्रेस केन्द्रीय सदस्य पौडेलको फेसबुकबाट)