विराटनगर – प्रदेश १ मा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि १४९ जनाको मृत्यु भएको छ। कोरोनाको दोश्रो लहर सुरु भएपछि गत चैत २ गते प्रदेश १ मा पहिलो पटक संक्रमणबाट मृत्यु भएको थियो।
वैशाख ३० गते सम्ममा प्रदेश १ मा १४९ जनाको मृत्यु भएको छ। कोरोनाको पहिलो लहरका समयमा प्रदेश १ मा ४६६ जनाको मृत्यु भएको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताए।
दोश्रो लहर सुरु भएपछि मोरङमा सवैभन्दा बढी ५० जनाको मृत्यु भएको छ। मृत्यु हुने अधिकांश विराटनगरका छन्। झापामा ३२, सुनसरीमा २८, उदयपुर र इलाममा ३–३, धनकुटा र ताप्लेजुङमा २–२, तेह्रथुममा १ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट ओखलढुङ्गा, सोलुखुम्वु, भोजपुर र खोटाङमा मृत्यु भएको छैन। पहिलो चरणमा संखुवासभा र पाँचथरमा १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार दोश्रो लहर सुरु भएपछि प्रदेश १ बाहिरका ठेगाना भएर प्रदेश १ का अस्पतालमा २८ जनाको मृत्यु भएको छ। पहिलो चरणमा ३० जनाको मृत्यु भएको बताइएको छ।
कोरोना संक्रमणबाट मृतकको संख्या दैनिक बढ्दै गएको छ। एकसाताको अवधिमा मात्र ७८ जनाको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार प्रदेश १ मा १५ जनाको मृत्यु भएको छ।
बुधबार १७, मंगलबार १५, सोमबार ११, आइतबार १०, शनिबार ४, शुक्रबार ६ जनाको मृत्यु भएको छ।