बुटवल– कोरोनाको हटस्पट बनेको रुपन्देहीमा पछिल्लो २४ घन्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
यहाँका कोभिड अस्पताल तथा आइसोलेशनमा उपचाररत १२ जना पुरुष र ६ जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। योसँगै रूपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २७ पुगेको छ।
पछिल्लो २४ घन्टामा बुटवल कोरोना बिशेष अस्पतालमा ७, कोभिड भिम अस्पतालमा ६, तिलोत्तमास्थित क्रिमसन अस्पतालमा २ र यूसिएमएस भैरहवामा एक जनाको मृत्यु भएको हो। य
सैगरी देवदह नगरपालिका र सियारी गाउँपालिकाका आइसोलेशन सेन्टरमा १–१ जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कन्ट्रोल भेक्टर निरीक्षक केदारनाथ शाहले जानकारी दिए। अस्पतालमा अक्सिजनको अभाव चुलिएसँगै मृतकहरुको संख्या बढेको हो। अहिले पनि अस्पतालमा अक्सिजन अभाव कायमै छ।
विहिवार रुपन्देहीमा थप ४ सय ९४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यससँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ७० जना पुगेको छ।