काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकारको नेतृत्व दाबी गर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ।
बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले संसदमा बहुमत जुटाउन नसकिने हिसाबसहित दाबी गर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।
संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि समय सीमा राति ९ बजेसम्म रहेको र त्यो समयसीमा भित्र बहुमत जुटाउने अवस्था नरहेको बैठकको निष्कर्ष रहेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
विपक्षी गठबन्धनले बहुमत जुटाएर सरकार गठन गर्नका लागि जसपाले एकमतले निर्णय गर्न नसकेको र एमालेको माधव नेपाल पक्षीय नेताहरुले राजीनामा नगरेको अवस्था रहेकाले कांग्रेसले यस्तो निष्कर्ष निकालेको उनले बताए।
उनले सरकार गठनका लागि कांग्रेसको अग्रसरतामा विभिन्न कसरत गरेको र सफल नभएको बताए।
उनले भने, ‘जसपाका उपेन्द्रजी तयार हुनुहुन्थ्यो, महन्थ र राजेन्द्रजी ओलीको विपक्षमा जान चाहानु भएन। अब ७६ (३) अनुसारको प्रक्रिया अघि बढ्ला, हेर्दै जाउँ, त्यसपछि बाँकी के गर्न सकिन्छ।’