विराटनगर- विराटनगरमा एकै परिवारका दुई जनाको १८ घण्टाको फरकमा मृत्यु भएको छ। आमाको मृत्यु भएको १८ घण्टापछि छोराको पनि कोरोना संक्रमणबाट ज्यान गएको हो।
विराटनगरको हाटखोलास्थित परमविश्रान्ति घाटमा आमाको शवको अन्त्येष्टि गर्ने तयारी गरियो। त्यहीअनुरुप दाहसंस्कारका लागि बिहीबार बिहान ११ बजेतिर अस्पतालबाट शव उठाएर घाटमा पुर्याइयो। आमाको शव घाट पुग्दा कोरोना संक्रमित उनका ४२ वर्षीय छोराको विराट नर्सिङ होममै गम्भीर अवस्थामा उपचार भइरहेको थियो।
घाटमा चिता ठिक्क पारिएको थियो। शव व्यवस्थापनमा खटिएको टोलीले लगेर चितामाथि शव राखिदियो। शवलाई चितामाथि राखिसक्न नपाउँदै अस्पतालबाट छोराको पनि दिउँसो २ बजे मृत्यु भएको खवर घाटमा पुग्यो।
विराटनगर– ३ की ६० वर्षीया महिलाको बुधबार साँझ विराट नर्सिङ होममा मृत्यु भएको थियो। कोरोना संक्रमण भएपछि वैशाख १६ गते उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। पारिवारिक स्रोतका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ आएको हो।
स्वास्थ्य अवस्था जटिल बन्दै गएकी महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा साँझ ७ बजेतिर मृत्यु भएको अस्पतालका लेखा अधिकृत सुवास पोखरेलले बताए।
अस्पताल ल्याउँदा आमाछोराकै अवस्था अत्यन्तै नाजुक रहेको बताउँदै पोखरेलले स्वास्थ्यमा उतारचढाव हुँदाहुँदै दुवै जनाको ज्यान गएको जानकारी दिए। दाजुको मृत्युको खबर सुनेलगत्तै कान्छो छोरा आमालाई दागवत्ति दिएर हतारहतार अस्पताल पुगे। अस्पताल पुग्दा उनी सम्हालिन सकिरहेका थिएनन्।
एकै पटक परिवारका दुई अभिभावक गुमाउनु पर्दा उनी बोल्न सक्ने अवस्थामा थिएनन्। उनका अनुसार वृद्ध अवस्थाका बुवा पनि संक्रमित छन्। उनका अनुसार मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेका बुवालाई स्वास्थ्य अवस्था सामान्य भएकाले तत्कालका लागि घरमै होम आइसोलेसनमै राखिएको छ।
विराटनगर– ३ का वडाध्यक्ष विनोदकुमार बस्नेतले कोरोनाले निम्त्याएको विपत्तिका कारण यहाँभन्दा ठूलो बज्रपात पर्ने अरु कुनै ठाउँ नै नरहेको बताए। संक्रमितले भनेका बेला आईसीयू र भेन्टिलेटर नपाएको उनले बताए। वडाध्यक्ष बस्नेतका अनुसार भनेको समयमा संक्रमितका लागि प्लाज्मा र रेमडेसिभिर पनि पाइँदैन।