काठमाडौं– निजी अस्पतालले सरकारले दिएको १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने भएका छन्। सरकारले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न दिएको निर्देशनलाई ‘हावादारी निर्णय’ भन्दै निजी अस्पतालले जडान गर्न नसक्ने स्पष्ट पारेका हुन्।
अक्सिजन प्लान्टको मूल्य कम्तीमा दुई करोड र त्यसका लागि पूर्वाधार तयार गर्न ५० लाख चाहिने भएकले तत्काल जडान गर्न नसकिने उनीहरुको भनाइ छ। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष वसन्तकुमार चौधरीले जारी गरेका विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय हो।’
अध्यक्ष चौधरीले खरिद सम्झौता गरेको साढे तीन महिनाभन्दा अघि अक्सिजन प्लान्ट जडान गर्न नसकिने स्पष्ट पारेका छन्। ‘अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन। विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभई प्लान्ट तयार गरिदिने अवस्था रहँदैन। प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्छ’ विज्ञप्तिमा उल्लेख छ।