इटहरी- फूलबारी टोलका इन्द्रकान्त दासले बीपीचोकस्थित कलश बचत तथा ऋण सहकारीमा श्रीमती हीराको नाममा ३ भदौ ०७१ देखि नियमित बचत थाले । दैनिक सय रुपयाँ बचत गरेका उनले सोही वर्ष २ माघमा एक लाख रुपैयाँ ऋण लिए । किस्ताबन्दी रूपमा उनले ऋण पनि चुक्ता गरे ।
फेरि उनले दुई लाख रुपैयाँ ऋण निकाले । नियमित किस्ताका रूपमा साँवा-व्याज गरी १ असोज ०७४ सम्ममा दुई लाख ४५ हजार रुपैयाँ तिरेर ऋणमुक्त बने ।
सहकारीका व्यवस्थापक मनबहादुर तामाङले अहिले थप तीन लाख ३१ हजार पाँच सय रुपैयाँ तिर्न बाँकी रहेको बताउँदै तत्काल चुक्ता गर्न दबाब दिइरहेका छन् ।
दासले सहकारीको कार्यालयमै गएर 'स्टेटमेन्ट' मागे । व्यवस्थापक तामाङ र कर्मचारी रिता चौधरीसँग तीन पटक स्टेटमेन्ट लिए । सबै स्टेटमेन्टमा फरक-फरक विवरण उल्लेख थिए ।
८ माघ ०७२ मा कर्मचारी चौधरीले दिएको स्टेटमेन्टमा पाँच लाख ९२ हजार ८४ रुपैयाँ तिर्नुपर्ने उल्लेख थियो । सोही दिन उनले व्यवस्थापक तामाङसँग पनि स्टेटमेन्ट मागे, जसमा ६ लाख दुई सय ८४ रुपैयाँ तिर्नुपर्ने देखाइएको छ ।
फेरि उनी कर्मचारी चौधरीको कार्यकक्ष पुगे र अर्को स्टेटमेन्ट मागे । पछिल्लो स्टेटमेन्टमा अघिल्ला दुई वटाभन्दा फरक विवरण थियो । यसपटक दासलाई तीन लाख ७४ हजार ६६ रुपैयाँ ऋण लिएको बताउँदै पाँच लाख ६७ हजार तीन सय ८३ रुपैयाँ तिर्नुपर्ने देखाइयो ।
तिरिसकेको ऋणमा थप तीन लाख ३१ हजार पाँच सय रुपैयाँ असुल्ने सहकारीका व्यवस्थापकको प्रयास ।
हस्ताक्षर कीर्ते गरेर नक्कली ऋण
ऋण तिरिसकेको अवस्थामा तीन वटा फरक-फरक स्टेटमेन्ट आएको गुनासो गरे, दासले व्यवस्थापक तामाङसँग । तामाङले उल्टै अब तिर्नुपर्ने रकम सात ५० हजार रुपैयाँ पुगेको बताउँदै उनलाई मानसिक यातना दिए ।
बाध्य भएर उनी इलाका प्रहरी इटहरीमा उजुरी लिएर पुगे । प्रहरीले उनको उजुरीमा सुनुवाइ गरेन । र, सुनसरी जिल्ला अदालतमा आफूमाथि वित्तीय अपराध गरेको बताउँदै मुद्दा दायर गरे ।
सहकारीका व्यवस्थापक तामाङले अदालतमा आफ्नो गल्ती ढाकछोप गर्न पेश गरेको कागजात झनै अनौठो थियो । उनको हस्ताक्षर कीर्ते भएको प्रष्ट देखिन्छ, उक्त कागजातमा । र, कीर्ते हस्ताक्षरबाट थप तीन लाख रुपैयाँ ऋण लिएको देखाएका छन्, तामाङले ।
जबकि, दाससँग ऋण लिएको रकम साँवा-व्याजसहित भुक्तानी गरिसकेको पासबुक र रसिद साथमै छन् । व्यवस्थापक तामाङले भने उनलाई धम्क्याउन छाडेका छैनन् ।
पीडित दास सामान्य किराना पसले हुन् । उनी मात्र होइन, अन्य थुप्रै बचतकर्ताले कलश सहकारीले ठगी गर्दै आएको गुनासो गरेका छन् ।

बचत गरेका सर्वसाधारणलाई आफूखुशी हिसाब देखाएर सहकारीले मनपरी असुली गरिरहेको छ । आफूखुशी ऋण लिएको कागज बनाउने, किर्ते हस्ताक्षर गर्ने र जरिवानालाई पनि साँवा बनाएर ब्याजको भारी बोकाउने गरेको सेवाग्राहीको गुनासो छ । बचतकर्ताहरूको ब्याजदरमा पनि आफूखुशी गरेको पाइएको छ ।
व्यवस्थापक तामाङ आफैं एक सहकारीको खराब ऋणीको सूचीमा छन् । नेपाल समयलाई प्राप्त एक दैनिक पत्रिकामा प्रकाशित सूचनामा २० भदौ ०५४ मा ऋण लिएर तामाङले नतिरेको उल्लेख छ ।
उनले इटहरी-५ (ख)मा १९२० कित्ता नम्बरको जग्गा राखेर लिएको ऋण नतिरेको बताउँदै पत्रिकामा तस्बिरसहितको विज्ञापन छापिएको छ ।
ठगीको आरोपबारे बुझ्न व्यवस्थापक तामाङलाई सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४