बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव–झलनाथ पक्षले राजीनामा नदिने अवस्थामा पनि नयाँ प्रधानमन्त्री बनाउने कसरत सुरु

माधव–झलनाथ पक्षले राजीनामा नदिने अवस्थामा पनि नयाँ प्रधानमन्त्री बनाउने कसरत सुरु

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणका लागि दिएको समयसीमा सकिने दिन अर्थात् आज बिहीबार भएका विपक्षी दलका बैठकहरु एमालेबिनाको सरकार कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणका लागि दिएको समयसीमा सकिने दिन अर्थात् आज बिहीबार भएका विपक्षी दलका बैठकहरु एमालेबिनाको सरकार कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएका छन्। 

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले राजीनामा नदिएको अवस्थामा समेत नयाँ सरकार बनाउने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले छलफल अघि बढाएका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बिहीबार बिहान भएको छलफलमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले आफ्नो दलबाट प्रधानमन्त्रीको उम्मेदवार तय हुने भएमा कुरा अघि बढाउन आफू तयार रहेको प्रस्ताव राखेको थियो।

‘तर त्यहाँ केपी ओलीलाई सत्ताबाट बहिर्गमन गर्ने उपाय र सम्भावनाको गणितबारे पनि छलफल भएको थियो,’ छलफलबारे कांग्रेसका एक उच्चस्तरीय नेताले नेपाल समयसँग भने, ‘हामीले प्रधानमन्त्री को बन्ने भन्दा पनि अहिले सरकार परिवर्तनको गणित र सम्भावनाको चित्रबारे आफ्ना कुराहरु राखेका छौं। साँझसम्ममा नयाँ रुपरेखा सतहमा आउन सक्छ।’

जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको समूहसँग छलफलपछि आजै दिउँसो कांग्रेस सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि एमालेभित्र माधव–झलनाथ समूहले राजीनामा नगर्दाको गणित र सम्भावनाबारे छलफल गरेका छन्। ‘प्रचण्डले जसरी पनि नयाँ प्रधानमन्त्री खोजीको सम्भावनातिर जानुपर्ने मत राख्नुभएको छ,’ कांग्रेसका ती नेताले भने, ‘नयाँ सम्भावनाको खोजी र अनुकूल वातावरण बनाउन माओवादी केन्द्र तयार छ। हेरौं, बाँकी छलफलहरु कसरी अगाडि बढ्छन्। माधवजीहरुले पनि के निष्कर्ष निकाल्नुहुन्छ, त्यतातिर पनि ध्यान दिनुपर्ने अवस्था छ।’

प्रचण्डसँगको छलफलपछि आजै कांग्रेस पदाधिकारी बैठक सभापति देउवा निवासमै तय भएको छ। बैठकमा पछिल्लो राजनीतक अवस्था र कांग्रेसको अग्रसरताबारे छलफल हुनेछ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन्। नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दलहरुलाई दिएको तीनको समयसीमा आज राति ९ बजे सकिँदैछ।  

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएको एमालेको माधव–झलनाथ समूहका सांसदहरुले राजिनामा दिने र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी विपक्षी दलहरुले कसरत गरिरहेका थिए। तर, एमाले संस्थापनको बिहीबार बसेको स्थायी किमटी बैठकले नेपालसहित चार जना नेताको कारबाही फुकुवा गरेको छ।  

नेपाल पक्षलाई कानुन व्यवसायीहरुले समेत राजीनामा नदिन सुझाएका छन्। कानुन व्यवयायीहरुले पार्टीभित्रै रहेर संघर्ष गर्न सुझाव नेपाल समूहलाई दिएका छन्। 

यता ओलीले समेत आफ्नो सत्ता टिकाउन नेपाल समूहलाई फकाउने कोसिस जारी राखेका छन्। आफू निकटका नेताहरुमार्फत नेता नेपालसँग निरन्तर छलफल गरिरहेका ओलीले नेपालसँग निर्णायक वार्ता गरेका छन्। नेपाललाई फकाउन ओलीले पार्टी संरचना २०७५ जेठकै अवस्थामा फर्काउन तयार रहेको सन्देश समेत नेपालसम्म पुर्‍याएका छन्। 

नेता नेपाल समूहका सांसदहरुले राजीनामा दिने सम्भावना क्षीण बन्दै गएपछि विपक्षी दलहरुले भने राजनीतिलाई नयाँ दिशातर्फ लैजाने कसरत थालेका छन्। बिहीबार बिहानदेखि विपक्षी दलहरुले ओलीको बहिर्गमनका लागि राजनीतिलाई नयाँ कोर्सतर्फ लैजाने प्रयत्न थालेका छन्। त्यो कोर्स हो– एमालेबिनाको सरकार।  

जनता समाजवादी पार्टी एक ढिक्का भए एमालेबिनाको सरकार बन्न सक्छ। प्रतिनिधिसभाको गणितलाई हेर्ने हो भने कांग्रेस, माओवादी र जसपा मिलेर नयाँ सरकार बनाउन सक्छन्।  

प्रतिनिधिसभामा हाल २७१ सांसद छन्। नयाँ सरकार बनाउन वा ओलीको सरकार टिकाउन चाहिने आवश्यक संख्या १३६ हो। जसमध्ये एमालेका १२१ सांसद छन्। ओली सत्तामा टिकिरहने हो भने नेता नेपाललाई विश्वासमा लिनु त छँदैछ। त्यो बाहेक थप १५ जना सांसदको समर्थन जुटाउन आवश्यक हुन्छ।  

ओलीले नेपाल समूहलाई विश्वासमा लिँदासमेत विपक्षी दलहरुले नयाँ सरकार गठन गर्ने सम्भावना कायमै रहन्छ। प्रतिनिधिसभामा कांग्रेसका हाल ६१ जना सांसद छन्। यस्तै माओवादीका ४८ जना र जसपाका ३२ जना सांसद छन्। विपक्षी तीन दलबाट हाल प्रतिनिधिसभामा १४१ जना सांसदले प्रतिनिधित्व गर्छन्। जुन सरकार बनाउन पर्याप्त संख्या हो। 

प्रधानमन्त्रीको उम्मेदवार को? 

माधव नेपाल समूहका सांसदले राजीनामा दिए माओवादी केन्द्र र जसपाको एउटा समूहको समर्थनमा प्रधानमन्त्री हुने आकांक्षा कांग्रेस सभापति देउवाले राखेका थिए। तर, नेपाल समूहले राजीनामा दिने सम्भावना न्यून बन्दै गएपछि प्रधानमन्त्रीको साझा उम्मदवारको खोजी हुन थालेको छ। 

त्यसका लागि तीन दलबीच छुट्टाछुट्टै छलफल भइरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग समेत बिहिबार बिहान छलफल गरेका छन्। छलफलमा ठाकुर–महतोले ठाकुरको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेका छन्। 

जसपाले ठाकुरको नेतृत्वमा सरकार बने राजनीतिक समीकरण परिवर्तन हुन सक्ने बताएको छ। ठाकुर बाहेक अरु कसैको नाममा सहमत हुन नसक्ने र अहिले सरकार बनाउने जोडघटाउमा संलग्न नहुने उसको दावी छ।  

जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्षले समेत पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार बनाउन सार्वजनिक प्रस्ताव राखेर यही कुराको संकेत गरेको छ। नेता भट्टराईले एक दिनअघि मात्रै ट्वीट गर्दै भनेका छन्, ‘देशको संकट हल गर्न यसो गरौंः १. धारा ७६ (२)वमोजिम सबै दलको सहभागिता र वर्तमान–पूर्व प्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं, २. दलका प्रमुख–पूर्व प्रम रहेको निर्देशक समिति, ३. साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टिआरसी–मुद्दा,संविधान संशोधन,आर्थिक राहत ४. एक वर्षभित्र चुनाव!’

जसपा अध्यक्ष ठाकुरले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी दिन भन्दै आफू निकटका सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन्। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय घर्कन लाग्दा दौडधुपमा देखिएका ठाकुर–महतोले सांसदहरुलाई ब्रिफ गर्ने बताइएको छ। आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा रहेका ठाकुरले सांसदहरुलाई रिसोर्टमा राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

जसपाले सके आफ्नो नेतृत्वमा सरकार बनाउने, नसके सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएपछि विपक्षी दुई दलबीच यस विषयमा छलफल भइरहेको छ। ठाकुर र महतोसँगको भेटवार्तापछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। ठाकुर र महतोसँगको भेटबारेमा दुई नेताबीच छलफल भएको बताइएको छ। यस्तै देउवा र दाहालबीच नयाँ सरकार गठनका राष्ट्रपतिले तोकेको समयभित्रै बहुमतको सरकार गठनका लागि निवेदन पेश गर्ने सहमति जुटेको छ।  

कांग्रेस सभापति देउवाले नयाँ सत्ता समीकरण बनाउन भएका प्रयास र भएका प्रगतिबारेका छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: May 13, 2021| 11:15 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।