 
                                                                                 
                                                                
                                                                                        
                                                        काठमाडौं– मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलले नेपालका राजनीतिक दलहरुलाई महामारीबाट उत्पन्न संकट समाधानका लागि एकजुट हुन अपिल गरेको छ। नेपालमा कोरोना महामारी डरलाग्दो रुपमा फैलिइरहँदा पनि राजनीतिक दलहरुले आन्तरिक कलहमा व्यस्त रहेको भन्दै एम्नेस्टीले बिहीबार यस्तो अपिल गरेको हो।
‘नेपालका राजनीतिज्ञहरूले राजनीतिक झगडा र आन्तरिक कलहमा अल्झिने समय होइन यो। यतिखेर देशमा चुलिँदो संकट समाधानका लागि एकता र नेतृत्वको खाँचो छ’, एम्नेस्टी इन्टरनेसनलका एसिया प्यासिफिक निर्देशक यमिनी मिश्रले भनिन्।
भारत र नेपालमा जुन खालको मानवीय विपत्ति देखा परिरहेको छ यसले यस क्षेत्रका अन्य देश पनि प्रभावित रहेको एम्नेस्टीको विज्ञप्तिमा उल्लेख छ। भाइरसले यस क्षेत्रका अति सीमान्तकृत जनसंख्यालाई आक्रमण गर्न जारी राखेको एम्नेस्टीले जनाएको छ। विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै नेपालमा दैनिक संक्रमणको दर ३० गुणाले बढेको जनाएको छ।
भारतले अक्सिजन निर्यातमा रोक लगाएपछि नेपालले अतिरिक्त आपूर्ति व्यवस्था मिलाउन पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
एम्नेस्टीले भनेको छ, ‘यस अवस्थालाई थप गम्भीर पार्नेगरी नेपालमा यतिखेर राजनीतिक उथलपुथल भइरहेको छ। प्रधानमन्त्रीले भर्खरै विश्वासको मत गुमाएका छन् र राजनीतिक दलहरूले अर्को सरकार गठन गर्न सकिरहेका छैनन्।’ मिश्रले नेपालमा पनि भारतको जस्तै भयावह स्थिति देखा पर्न लागेको बताइन्।  दक्षिण एसियाका सरकारहरूले स्वास्थ्य सेवासम्बन्धी अभावलाई तत्काल सम्बोधन गर्न पनि एम्नेस्टीले अपिल गरेको छ।