काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि कूटनीतिक पहल सुरु गरेका छन्।
आज उनले नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीसँग टेलिफोन संवाद गरेका छन्। उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरेका छन्।
नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उनले बताए। अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतीक्षा रहेको भन्दै त्यसका लागि आवश्यक पहल गरिदिन उनले आग्रह गरे।
यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको पोखरेलको भनाइ छ।
जवाफमा अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीहरु सहयोग गरिने जानकारी दिए तर, के के सहयोग गरिने भन्ने बारेमा आगामी आइतबारसम्म टुंगो लाग्ने उनको भनाइ छ। ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु,’ उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भने।
अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका थिए। उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिएका छन्।
उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए।