काठमाडौं– आजबाट विश्वभर रिलिज भएको सलमान खान अभिनित ‘राधेः योर मोस्ट वान्टेड भाइ’ नेपालमा सेन्सर नगरी रिलिज भएको छ। विदेशी फिल्म नेपाली हलमा रिलिज हुनुअघि सेन्सर गर्ने प्रचलन थियो।
तर, कोरोना महामारीका कारण यसपटक नेपालमा ओटीटी प्लेटफर्ममार्फत मात्रै रिलिज भएको यो फिल्म सेन्सर नगरी रिलिज भएकोमा सेन्सर बोर्डले आपत्ति जनाएको छ।
‘राधे चलचित्र बिनासेन्सर नै केबल टिभी र ओटीटी प्लेटफर्ममा प्रदर्शन भइरहेको र सञ्चार मन्त्रालयले प्रदर्शन गर्नु अगाडि नै सेन्सर नगरी प्रदर्शन नगर्न आग्रह गर्दागर्दै पनि प्रदर्शन भएको हो,’ चलचित्र सेन्सर बोर्डका सदस्य सन्तोषकुमार थापाले भने, ‘अहिले पनि सम्पर्क गर्दा हामी सेन्सरमा आउन लागेको भन्नेमात्र जवाफ आइरहेको छ।’
ओटीटी तथा केवलको नियमन तथा सेन्सरको काम चलचित्र विकास बोर्डको कार्यक्षेत्रभित्र पर्दैन । यी माध्यमलाई सिधै सञ्चार मन्त्रालयले नियमन गर्दै आएको छ। केवल च्यानलहरु सिधै सञ्चार मन्त्रालयमा दर्ता गरिएका हुन्छन्। बोर्डको कार्यक्षेत्रभित्र नपरे पनि बिनासेन्सर नेपालमा फिल्म रिलिज गर्न नपाइने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको तर्क छ।
उनले यस विषयमा सञ्चारमाध्यममा जानकारी गराएको समेत बताएका छन्। नेपालमा राधे डिसहोम, नेटटिभी र सुविुस, म्याक्स टिभीका विभिन्न च्यानलबाट सशुल्क प्रदर्शन भइरहेको छ।