काठमाडौं – सगरमाथा आरोहण गरेर फर्किदै गरेका दुई जना विदशी नागरिकको मृत्यु भएको छ।
स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहण गरेर फर्किने क्रममा बिहीबार बिहान मृत्यु भएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष खुम बहादुर सुवेदीले नेपाल समयलाई जानकारी दिए।
आरोहण गरेर फर्किने क्रममा चिप्लिएर लडेको सुवेदीले बताए। 'उहाँहरू हिलारी स्टेपसम्म आइपुगेका थिए। तर, अचानक त्यहिबाट चिप्लिएर मृत्यु भएको खबर पायौं', उनले भने।
टानका अध्यक्ष सुवेदीका अनुसार आरोहणका लागि एक महिनाअघि १ सय ३० जनाको टोली गएको थियो। उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट गएका थिए।
आरोहणमा गएका मध्ये चार जना स्वास्थ्य समस्या देखिएको छ। आरोहणबाट फर्किएका उनीहरूमा अक्सिजनको अभावमा समस्या देखिएको टानले जनाएको छ। उनीहरूको बेसक्याम्पमा उपचार भइरहेको छ।