बुटवल– बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएर बुधबार ५ जनाको मृत्यु भएको छ। अक्सिजनको सहायतामा उपचार गराइरहेका विरामीको अक्सिजन सकिएपछि मृत्यु भएको अस्पताले जनाएको छ।
आधा घण्टा अक्सिजन दिन ढिलो हुँदा बिरामीको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुुटवलका सूूचना अधिकारी डा. विष्णु गौतमले बताए।
उनका अनुसार मृत्यु हुनेमा बुटवलका ४ जना र नवलपरासीका १ जना छन्। बुटवल ११ का २९ वर्षिय पुरुष, वार्ड नम्बर ८ का ५२ वर्षिय पुरुष, बुटवल १२ की ५९ वर्षिया महिला र बुटवल १३ का ५२ वर्षिय पुरुषको मृत्यु भएको हो। यस्तै अक्सिजन नै नपाएर बर्घाटका ४४ वर्षिय पुरुषको पनि मृत्यु भएको डा. गौतमले बताए।
कोरोना विशेष अस्पतालमा आज विहान आउनुपर्ने अक्सिजनको सिलिण्डर समयमा नआउदा क्षति भएको हो। कोभिड विशेष अस्पतालमा पटक पटक अक्सिजन अभाव हुँदा बिरामीको मृत्यु हुने गरेको छ। अक्सिजन माग अनुसार नआएको तथा समयमा समेत नआउँदा उपचार निकै असहज भएको चिकित्सकहरु बताउँछन्।
उनीहरु समेत अक्सिजनका कारण व्यवस्थापन गर्न नसकेर तनावमा परेका छन्। अस्पतालमा अहिले भने अक्सिजन सिलिण्डर आएपछि जडान भएको छ।