काठमाडौं– नेकपा (एमाले)को नेपाल–खनाल समूहका सांसदले सामूहिक राजीनामाको संकेत दिएका छन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीसँग तीव्र मतभेद रहेको उक्त समूहले सोमबार ओलीलाई संसदमा मत दिएकाे थिएन।
उक्त समूहका एक नेता भीम रावलले बुधबार साँझ ट्विट गर्दै भनेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ।’
नेपाल समूहका अर्का नेता घनश्याम भुसालले पनि आजै प्रधानमन्त्री ओलीसँग आत्मसमर्पण गर्न नसकिने बताएका थिए।