काठमाडौं– नेपाल चिकित्सक संघले कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको भन्दै देशभर ‘रेड अलर्ट’ घोषणा गरेको छ। चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको भन्दै देशभर रेड अलर्ट जारी गरेको जनाएको छ।
कोरोना संक्रमणको पहिलो लहरसँगै सरकारले आवश्यक तयारी नगर्दा यो अवस्था आएको संघले जनाएको छ। स्वास्थ्य प्रणालीलाई थप ढल्न नदिन सबै एकजुट भएर महामारी नियन्त्रणमा लाग्न संघले अपिल गरेको छ। यस अवस्थमा सबैले समन्वयकारी भूमिका खेल्न संघले आग्रह गरेको छ।
संघको विज्ञप्तिमा भनिएको छ, ‘कृपया आजको दिनमा एकमात्र प्राथमिकतामा कोरोना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई राखौँ। सरकार, राजनीतिक दलहरु, निजी क्षेत्र, सहयोगी निकायहरु सबैले जनताको जीवन रक्षाको लागि कहाँ कति योगदान गर्न सकिन्छ गरौं।’

