काठमाडौं- यात्रुसँग तोकिएकोभन्दा दोब्बर बढी भाडा लिने २ जनालाई कलंकी र बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरको छ।
उपत्यकामा निषेध आदेश जारी भएपछि वैदेशिक रोजगारीबाट घर फर्किने र जरुरी कामका लागि उपत्यका बाहिर जाने यात्रुहरुसँग बढी भाडा लिई ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ वर्षीय हृदय नारायण साह छन्। साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए। त्यस्तै गोंगबुबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरीलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरी प्रहरी बृत्त बालाजुमा बुझाएको छ।
पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति व्यक्ति २ हजार ५०० देखि ३ हजार रुपैयाँसम्म लिने गरेका थिए। उनले ना७ख ४९२० नम्बरको बसमार्फत् बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइएपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ।
दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानी गरी हालसम्म महाशाखाले २८ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।
महाशाखले निषेध आदेश लागू भएपछि बढी भाडा लिई यात्रु ठग्नेविरुद्ध कारबाही अभियान संचालन गरी छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरेको छ।
टोलीले सूचना संकलन गर्ने, निगरानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
‘हामीले निरन्तर अनुगमन एवम् गोप्य निगरानी गरिरहेका छौं, तोकिएकोभन्दा बढी भाडा लिएको पाइए जोसुकैलाई नियन्त्रणमा लिन्छौँ।’ उनले पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु समेत बढि भाडा लिएको कसुरमा पक्राउ परेका उहाँले जानकारी दिए।