काठमाडौं– कोभिड–१९ को नयाँ भेरियण्टसहितको संक्रमणको दोस्रो लहर फैलिएपछि सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राख्दै नेपाल उद्योग वाणिज्य महासंघले ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियानको थालनी गरेको छ।
महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगतदेखि नै अप्ठेरो समयमा यस खालका अभियान सञलन गर्दै आएको छ। ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियान अन्तर्गत पहिलो कार्यक्रमको रूपमा शनिबारबाट हेल्लो डाक्टरको शुभारम्भ भएको महासंघले जनाएको छ। यस अभियान अन्तर्गत महासंघले थप कार्यक्रमहरू घोषणा गर्दै जानेछ।
‘हेल्लो डाक्टर कार्यक्रम महासंघद्वारा संचालन गरिएको हो, जसमा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन्,’ महासंघले भनेको छ। हेल्लो डाक्टर शुभारम्भ सँगै यसमार्फत स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने काम आजैदेखि शुरु भएको छ।
‘कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्नेछन्,’ महासंघले भनेको छ, ‘हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड संक्रमित विरामी र डक्टर बीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ। प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने छ । त्यसका लागि विहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ।’
नाम दर्ता गर्न विरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसंगको परामर्शको समय विरामीलाई पठाइने बताइएको छ। तत्पश्चात डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिनेछन्। म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्ने उल्लेख छ। महासंघले देशभरका लागि यो सेवा निःशुल्क सञ्चालन गरेको हो।