पोखरा– राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद तथा पार्टीका संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट हटाएको छ।
पार्टी महासचिव मनोज भट्टले प्रमुख सचेतकमार्फत सभामुखलाई लेखेको पत्रमा थापालाई संसदीय दलको नेताबाट हटाइएको उल्लेख छ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेस गठबन्धनको सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेको भन्दै पार्टीले थापालाई स्पष्टीकरण सोधेको थियो। तर थापा स्पष्टीकरण नदिई गृहजिल्ला बागलुङ गएकाले दलको नेताबाट हटाइएको हो।
प्रमुख सचेतक पियारी थापाले दलको नेताबाट हटाउने पार्टीको पत्र संसद् सचिवालयमा दर्ता गराइएको नेपाल समयलाई जानकारी दिइन् ।
वैशाख १० गते पार्टी केन्द्रसँग र १२ गते संसदीय दलमा भएको निर्णय विपरीत काम गरेको आरोपमा उनलाई हटाइएको हो। भर्चुअल माध्यमबाट बसेको केन्द्रीय सचिवालय समितिको बैठकको निर्णय अनुसार उनलाई कारवाही गरिएको थापाले जनाइन्।