काठमाडौं– प्रतिनिधिसभामा विश्वासको मत गुमाएर कामचलाउ बनेका प्रधानमन्त्री केपी ओलीसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन्। आज बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म बालुवाटारमा उनीहरुबीच छलफल भएको हो।
अध्यक्ष ठाकुरले हिजो मंगलबार पनि प्रधानमन्त्रीसँग छलफल गरेका थिए। विपक्षी गठबन्धन सरकार निर्माणका लागि प्रयासरत रहेका बेला जसपाको महन्थ–राजेन्द्र पक्ष ओलीसँग घनिभूत छलफलमा छ। पार्टीका अध्यक्ष उपेन्द्र यादव भने सरकार निर्माणका लागि लागिपरेका छन्।
आजको भेट विपक्षीको गठबन्धन हुन नदिनेबारे नै छलफल केन्द्रित रहेको जसपाको महन्थ निकट एक नेताले जानकारी दिए। जसपाको एउटा पक्ष सरकार निर्माणमा सहभागी नहुने भएपछि गठबन्धनलाई बहुमत पुर्याउन सकस भएको छ।
उसले एमालेको माधव–झलनाथ पक्षका सांसदहरुलाई राजीनामा गराएर भए पनि बहुमत पुर्याउन खोजेको छ। तर यो प्रस्तावमा अझै एमालेको माधव–झलनाथ पक्ष निर्णयमा पुगिसकेको छैन।