नेपालगन्ज– बाँकेमा पछिल्लो १२ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार राति ९ बजेदेखि बुधबार बिहान १० बजेसम्ममा विभिन्न अस्पतालमा उपचाररत ११ जना संक्रमितको मृत्यु भएको हो।
मृतकमध्ये बाँकेका ६ जना, बर्दियाका ३ जना, सल्यान र कैलालीका एक एक जना रहेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा ५ र नेपालगञ्ज मेडिकल कलेजमा ६ जनाको मृत्यु भएको छ।
भेरी अस्पतालमा नेपालगन्ज उपमहानगर–१६ का ४९ वर्षीया महिला, नेपालगन्ज उपमहानगर–५का ४४ वर्षीय पुरूष, गुलरिया–९ बर्दियाका ४७ वर्षीया महिला, बर्दियाकै मधुबन नगरपालिका–६ का ५५ वर्षीय पुरूष, बर्दियाकै बढैयाताल गाउँपालिका ६५ वर्षीय पुरूषको मृत्यु भएको छ।
यस्तै बाँकेकै नेपालगञ्ज मेडिकल कलेजमा कोहलपुर नपरपालिका–२ की ३० वर्षीया महिला, कोहलपुर–१० की ४५ वर्षीया महिला, कोहलपुर–११ का ४१ वर्षीय पुरूष, कोहलपुर–१४ बाँकेकै ६४ वर्षीया महिलाको मृत्यु भएको छ।
यस्तै सल्यानको बनगाड कुभिन्डे–६, का ५० वर्षीय पुरूष, कैलाली घोडाघोडी–१ का ६० वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
योसँगै बाँकेमा ३ सय ५५ जना संत्रमितको मृत्यु भएको छ। जसमा जिल्ला भित्रका २०२ जना र जिल्ला बाहिरका १५३ जना छन्।