डोटी - कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिए।
उनका अनुसार संक्रमितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अन्य अनमी छन्। संक्रमित स्वास्थ्यकर्मी सबैलाई होम आइसोलेशनमा राखिएका छन्। उनीहरूको अवस्था जटिल नभएको बताइएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यहाँका जोरायलमा दुई, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पूर्वीचौकी गाउँपालिकामा दुई गरी १२ स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ।
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि यहाँका नागरिकलाई उपचार सेवा पाउन सकस भएको छ। कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै संक्रमण भएपछि अन्य बिरामीको उपचारमा समस्या भएको जिल्ला अस्पतालका फोकल पर्सन राजेन्द्र फुलाराले बताए।
यसैगरी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको इलाका स्वास्थ्य कार्यालयका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
कर्मचारीमा सङ्क्रमण देखिएपछि उक्त स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको अनमी विधि भण्डारीले बताए। उनले भने, 'संस्थामा काम गर्ने दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ, आकस्मिकबाहेकका अन्य सेवा हामीले बन्द गरेका छौं।'
उक्त स्वास्थ्य कार्यालयले एक सूचना सार्वजनिक गरी आगामी जेठ २ गतेसम्मका लागि आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ। स्वास्थ्य कार्यालयले सेवा बन्द गरेपछि स्वास्थ्य संस्थामा आउने दीर्घरोगी तथा सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीलाई उपचारमा समस्या भएको स्थानीयवासी बताउँछन्। रासस