काठमाडौं - कोरोना महामारीका कारण देशका ६९ भन्दा बढी जिल्लाको जनजीवन ठप्प छ। गृह मन्त्रालयका अनुसार बाँकी जिल्लामा पूर्ण निषेध आदेश नभए पनि बजार क्षेत्र, शिक्षण संस्था र उद्योग बन्द छन्।
वातावरण भने शान्त छ। सहरी क्षेत्रमा वायु र ध्वनि प्रदूषण छैन। ज्याकारन्डा, शिरीष फुल्दा सहरी सौन्दर्य बढेको छ। आँगन, छानो, बारी र बगैंचामा बिहानै चराको आवाज सुन्न पाइन्छ। उन्मुक्त भएका छन् पक्षीहरु। वातावरणमा वसन्तको बहार आएको छ।
पहाडका वन र बगैंचा काफल पाकेर राताम्मे भएको छ। बैजनी रातो रंगको स्वादिलो फल काफलको व्यापार गर्नेहरु पनि घरमै बस्नुपरको छ यति बेला। चराले ‘काफल पाक्यो’ भनेर बोलाए पनि काफल टिप्न वनमा जान मिलेको छैन। किनिदिने ग्राहक छैनन्।
बिहानै काफल पाक्यो चरी र कोइलीको मिठो आवाजले आनन्दित बनाउँछ हामीलाई। वन र बगैंचामा काफल पाक्यो चरीले सुसेल्दै बोलाइरहेको छ।
‘काफल पाक्यो’ चरी नेपाली कविता, आख्यान र उखानमा समेत बिम्बका रुपमा प्रयोग भएको पाइन्छ। ‘प्रजातन्त्रको काफल पाक्यो’ देखि ‘काफल गेडी कुटुक्क’ लगायत धेरै गीतमा काफल र चरी प्रयोग भएका छन्। यही नामको एउटा फिल्मसमेत बनेको छ।
नेपाल र भारतमा काफल पाक्यो चरीमा आधारित प्रशस्तै लोककथा छन्। भारतको उत्तराखण्डका स्थानीय त चराको बोलीमा ‘काफल पाक्यो’ मात्रै होइन ‘मैले चाखिन’ समेत सुन्ने गर्छन्। र, त्यसैअनुसारका लोककथा प्रचलित छन्।
वैशाख सुरुदेखि दक्षिण एसिया र पूर्वी एसियाका पहाडमा काफल पाक्यो चरीको सुरिलो तान सुनिन्छ। बिहानदेखि अबेर रातिसम्म सुसेलेको जस्तो चार नोटको यसको स्वरले धेरैलाई आकर्षित गर्छ।
लोकोक्तिअनुसार यो चराले काफल पाकेको सन्देश सुनाउँछ। नेपाल र उत्तराखण्डमा ‘काफल पाक्यो’ भन्ने यो चराले बांग्लादेशमा भने ‘दुलही केही त बोल’ ९बोउ कथा काओ० भन्छ। भारतकै कांगडामा यसको स्वरलाई ‘मेरा भेडा कहाँ गए’ भन्ने मृत गोठालोको आत्मको सोधाइसँग गाँसिन्छ।
चिनियाँले त यसको बोलीमा ‘एक्लो जिन्दगी राम्रो’ देखि ‘सासूले पिट्छिन्’ सम्म भनेको जस्ता अनेक अर्थ लगाउँछन्।
थोरै देखिने र धेरै सुनिने कोइली प्रजातिको यो चराको वैज्ञानिक नाम ‘कुकुलस माइक्रोप्टेरस’ हो। गर्मी र मनसुनमा विचरण गर्ने यो प्रवासी चराको असली ठेगाना पत्ता लगाउनु वैज्ञानिकलाई अझै पनि चुनौती भएको भारतीय वन्यजीव संस्थानका वरिष्ठ वैज्ञानिक डा। सुरेशकुमार अग्रवाल बताउँछन्।
उनका अनुसार यो चरा गर्मीमा फल पाक्ने बेला मध्यप्रदेश, उत्तर प्रदेश, उत्तराखण्डका पहाडी क्षेत्रमा विचरण गर्छ। तर, मनसुन सकिएलगत्तै यी ठाउँमा देखिँदैन। यो कहाँ जान्छ अहिले त्यसबारे अध्ययन भइरहेको अग्रवालको भनाइ छ।
नेपालको पहाडी भेगमा पनि यसलाई आगन्तुक चरा नै मानिन्छ। सधैँ हरियो वनमा रहन रुचाउने यो चरा जाडो महिना लाग्न थालेपछि दक्षिणी क्षेत्रका वनतर्फ जाने विभिन्न अनुसन्धानले देखाएका छन्। हिउँदमा यो चराले गीत गाउँदैन, त्यसैले पनि कहाँ छ थाहा हुँदैन।
एनिमल कर्नर डट ओरजीका अनुसार काफल पाक्यो चरीले चीनमा मेदेखि जुलाईसम्म, नेपाल र भारतमा मार्चदेखि अगस्तसम्म, बर्मामा जनवरीदेखि जुनसम्म र मलेसियामा जनवरीदेखि अगस्तसम्म बच्चा कोरल्छ।
एकपटकमा एउटा मात्र अण्डा पार्ने काफल पाक्यो चरीले कोइलीले जस्तै अरु चराका गुँड, खास गरी भ्याकुरको गुँडमा अण्डा पार्छ। कोरलेपछि भ्याकुरले आफ्ना र काफल पाक्यो चरीको चल्लामा कुनै भेदभाव गर्दैन।
हामीले ‘काफल पाक्यो’ भने जस्तो सुन्ने आवाज उसले भालेलाई आकर्षित गर्नका लागि निकालेको हो। यही आवाजबाट भाले आकर्षित हुन्छ, सन्तान वृद्धि हुन्छ। यो आवाजबाट उसले आफ्नो क्षेत्र निर्धारण गरेको सन्देश अरु प्रजातिका चरालाई दिने पनि गर्छ।
रुखबिरुवामा नोक्सान पुर्याउने किराफट्यांग्रालाई यसले आहारा बनाएर ‘इको सिस्टम’ मा आफ्नो भूमिका निर्वाह गर्छ।
अहिले भारतीय वनविज्ञान अध्ययन संस्थानले यो चरामा ट्रान्समिटर जडान गरेर यो उड्ने बाटो र यसका बासस्थानबारे एकिन तथ्य पत्ता लगाउने तयारी गरिरहेको छ।
एन्टी अक्सिडेन्टलगायतका स्वास्थ्यवर्धक तत्त्व पाइने काफल पाकेको सन्देश दिने यति रमाइलो चराको संख्या घट्दै गएको छ। यसको संख्या ठ्याक्कै यकिन नभए पनि वातावरण विनाश र जलवायु परिवर्तनका कारण यो चराको संख्या कम हुँदै गएको विज्ञहरु बताउँछन्।