काठमाडौं- संविधानसभा सदस्य तथा बहालवाला प्रदेश सांसद पशुपति चौलागाईंको मृत्यु भएको छ।
अहिले राति १० बजे उनको निधन भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। चौलागाईंलाई केही दिनअघि कोरोना संक्रमण भएपछि मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।
नेकपा एमालेका केन्द्रीय सदस्य चौलागाईं हाल बाग्मती प्रदेशसभाका सदस्य हुन्। उनी दोलखाबाट निर्वाचित भएका हुन्। उनी केही समय मन्त्री पनि भएका थिए।
युवा संघका पूर्वअध्यक्ष चौलागाईं यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए।
दोस्रो संविधानसभामा सभासद रहेका चौलागाईं एमालेको पोलिटव्युरो सदस्य तथा साविक बागमती अञ्चल इन्चार्जसमेत थिए।