काठमाडौं– नेकपा एमालेको असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालले मंगलबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। नेता भीम रावलसहित देउवा निवास पुगेका नेता नेपालले करिब ४५ मिनेट गठबन्धनको बहुमत पुर्याउने विषयमा छलफल गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ।
आफ्नो खेमाको स्थायी कमिटीको बैठक बसेर परिस्थिति हेरेर निर्णय गर्ने निष्कर्ष निकालेका नेता नेपाल बेलुका भीम रावललाई लिएर बूढानीलकण्ठ पुगेका हुन्। भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए। उनीहरुबीच साढे ८ बजेदेखि सवा ९ बजेसम्म छलफल भएको हो।
राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकारको दावी पेस गर्न प्रयासरत कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबारको पदाधिकारी बैठकमा पनि एमालेको असन्तुष्ट पक्षले लिने निर्णयले सरकार निर्माणको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए।
नेपाल समूहभित्र पनि नेताहरुले अहिले कसैको नेतृत्वको सरकार गठनमा भूमिका खेल्नुभन्दा पार्टी एकताका लागि नै दबाब दिनुपर्ने बताइरहेका बेला देउवालाई भेट्न नेपाल पुगेका हुन्।
प्रधानमन्त्रीले विश्वासको मत लिने दिन सोमबार नै सांसदहरुले राजीनामा दिने भनिए पनि अन्तमा आन्तरिक विवादकै कारण राजीनामाको निर्णयबाट पछि हटेर संसद् बैठकमा अनुपस्थित हुने निर्णय माधव झलनाथ पक्षले गरेको थियो। अहिले पनि के गर्ने भन्ने निष्कर्षमा यो समूह पुगिसकेको छैन।