काठमाडौं– सरकारले अक्सिजन वितरण प्रभावकारी बनाउन बिरामीको संख्या, अक्सिजन चाहिने बिरामी, अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पतालबीच समन्वय गर्ने भएको छ। उपप्रधानमन्त्री एवम् सीसीएमसीका संयोजक ईश्वर पोखरेलले मंगलबार निजी क्षेत्रसँग गरेको परामर्शमा छिटो माध्यमबाट अक्सिजन उत्पादन र वितरण गर्न समन्वय र सहजीकरण गर्ने निर्णय भएको हो।
उपप्रधानमन्त्री पोखरेलले उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिसँग छलफल गरेका थिए।
पोखरेलले सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताएका थिए। बैठकमा उनले भनेका थिए, ‘महामारीसँग जुध्न राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ। हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ।’ उनले संकटका बेला भ्रमको खेती गर्नेहरुबाट सचेत रहन आग्रह गरेका थिए।
अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको पोखरेलको सचिवालयले जनाएको छ। बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।
काठमाडौं उपत्यका दैनिक १५ हजार लिटरभन्दा बढी माग भए पनि ७ हजार २ सय लिटरमात्रै उत्पादन भइरहेको छ। अक्सिजन नपाएरै कतिपय कोरोना संक्रमितको मृत्यु भएका घटना सार्वजनिक भइरहेका छन्।