काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर नौ हजार ४८३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा२० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।
योसहित नेपालमा चार लाख १३ हजार १११ जनामा कोरोना संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार २२५ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म तीन लाख १२ हजार १९ जनालाई निको भएको छ। नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ।
२२५ को निधन
पछिल्लो २४ घण्टामा संक्रमणबाट २२५ को निधन भएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा नेपाली सेनाले शव व्यवस्थापन गरेका आधारमा पछिल्लो २४ घण्टामा निधन हुनेको संख्या त्यति पुगेको हो। नेपालमा अहिलेसम्म चार हजार ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
यस्तै पाँच सयभन्दा बढी संक्रमण भएका जिल्ला ३० पुगेका छन्। तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा, महोत्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी छन्।
आईसीयूमा १,०८४ र भेन्टिलेरमा २९० जना
संक्रमितमध्ये एक हजार ८४ सघन उपचार कक्ष र २९० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् प्रदेश नंं १ मा १२७, प्रदेश नं २ मा ६०, बागमतीमा प्रदेशमा ५२९, गण्डकीमा ८२, लुम्बिनीमा १६०, कर्णालीमा १०२ र सुदूरपश्चिममा २४ जना आईसीयूमा छन्।
प्रदेश नंं १ मा २९, प्रदेश नं २ मा ३७, बागमतीमा १८४, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा आठ र सुदूरपश्चिममा आठ जना भेन्टिलेटरमा छन्।