काठमाडौं– पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोरोना नियन्त्रण गर्न वर्तमान सरकार असफल भएको बताएका छन्।
केटीबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेस म्यागाजिनको भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले भने, ‘सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको छ। अब बन्ने नयाँ सरकारले विगतका कमजोरी सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ।’
सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उनको आरोप थियो। चितवनबाट प्रकाशित यो म्यागाजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरे पनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको उनको भनाइ थियो।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, चेम्बर अफ कमर्स, चितवनका अध्यक्ष दीर्घमान श्रेष्ठ, एजेन्सीका अध्यक्ष किशोरचन्द्र सापकोटालगायतले सम्बोधन गरेका थिए।