काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेको कदम पर्याप्त नभएको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले भने, ‘जुन गतिले महामारीले स्वरुप ग्रहण गरेको छ, त्यसको लागि नयाँ कदम उठाउन बाँकी छ। हेल्थ इमर्जेन्सी वा लकडाउन जुनसुकै होस्, थप नयाँ कदमको आवश्यकता महसुस गरिएको छ।’
मन्त्रालयका स्वास्थ्य सचिव लक्ष्मण अर्यालले स्वास्थ्य संकटकालको लागि स्वास्थ्य मन्त्रालयले सरकारलाई सुझाव दिएको जानकारी दिए। ‘संकटकालको निर्णय सरकारले गर्ने हो,’ उनले भने।
भारतको सिरम इन्स्टिच्युटसँग खरिद सम्झौता भएको आउन बाँकी १० लाख खोप कहिले आउँछ भन्ने प्रश्नमा मन्त्री त्रिपाठीले भारतले निर्यात अनुमति दिएपछि सबैभन्दा पहिला नेपालले खोप पाउने आशय सिरमले व्यक्त गरेको बताए। त्यसका साथै अन्य खोपको विषयमा पनि सरकारको विभिन्न निकायले गम्भिरताका साथ कुरा गरेको उनले जानकारी दिए।