काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता साझेदारीबारे छलफल गरेका छन्। देउवाको निवास बूढानीलकण्ठमा दुई नेताबीच वार्ता भएको हो।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएर कामचलाउ भएपछि नयाँ सरकार निर्माणको दौडधुप जारी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पर्सी बिहीबार बेलुकासम्ममा बहुमत लिएर प्रधानमन्त्री दाबी गर्न आह्वान गरेकी छन्।
‘आजको भेटमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले तीन दिनको समय दिएकाले त्यो समयमा कसरी बहुमत दाबी गर्ने विषयमा नै छलफल भयो,’ देउवा निकट एक नेताले भने।
जसपाभित्रको विवादका कारण तीन दल मिल्दा पनि बहुमत पुग्ने अवस्था छैन। जसपा सिंगो रुपमा बहुमतको पक्षमा नआएसम्म सरकार निर्माण हुन सक्ने स्थिति देखिएको छैन।
एमालेको माधव–झलनाथ पक्षका सांसदहरुले राजीनामा दिएमा बहुमत पुग्न सक्ने देखेका देउवा र प्रचण्डले यो बीचमा उक्त समूहसँग पनि छलफल गर्ने बुझिएको छ।