काठमाडौं - नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठकपछि मात्रै अन्य दलहरूसँग नयाँ सरकार गठनका विषयमा छलफल गर्ने भएको छ।
आज नै देउवाले दिउँसो २ बजे नेकपा माओवादी केन्द्र, जसपालगायत दलसँग नयाँ सरकार गठनबारे छलफल गर्ने बताइएको थियो।
तर, त्यसअघि पदाधिकारीको बैठक बसेर आवश्यक छलफल गरेपछि मात्रै अन्य दलहरूसँग छलफल गर्ने निष्कर्षमा सभापति देउवा पुगेका छन्।
‘आज दिउँसो दलहरूसँग छलफल गर्ने भन्ने कुरा भएको थियो,’ देउवा निकट एक नेताले भने, ‘पहिले पदाधिकारी बैठक बस्छ त्यसपछि अन्य दलहरूसँग छलफल होला।’
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पनि आज संयुक्त छलफल नहुने बताए। पहिले पदाधिकारी बैठक बस्ने र त्यसपछि अन्य दलहरूसँग छलफल हुने उनले जानकारी दिए। सम्भवतः आज पदाधिकारी बैठक बसेपछि कांग्रेसले भोलि अन्य दलहरूसँग छलफल गर्ने तयारी गरेको छ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी हुन्।
विपक्षी गठबन्धनलाई बहुमत पुग्न अहिलेको परिस्थितिमा १३६ जना सांसद आवश्यक पर्छ। तर, हिजो प्रधानमन्त्रीले विश्वासको मत लिने दिन भने विपक्षमा १२४ जना सांसदहरू मात्रै पुगेका छन्।
जसपाभित्रको विवादले तत्कालै गठबन्धनलाई बहुमत पुर्याउन मुस्किल हुने देखिएको छ।