काठमाडौं - कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाइँदै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा दोस्रो डोजको मिति तोकेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यकामा दोस्रो चरणको खोप अभियान सञ्चालनका सम्बन्धमा सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी, भीडभाड नगरी व्यवस्था मिलाउन पत्राचार गरिने जनाएका छन्।
खोप कार्यक्रमका लागि आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले मिलाउने छ। जेठ २ गतेदेखि हुने खाेप अभियान १० गते सकिने छ। एक लाख ५९ हजार ४९९ जनालाई खाेप दिने लक्ष्य राखिएकाे छ।
यसअघि चैत १६ गते चिनियाँ खोपको पहिलो डोज नेपाल आइपुगेको थियो। नेपालमा कोरोना संक्रमण दर बढ्दै जाँदा निषेध आदेश लगाइएपछि खोप अभियान स्थगित भएको थियो।
