काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजारमा मानिसको भीड बढ्दै गएको गुनासोपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी अनुगमनमा पुगेका छन्।
मंगलबार बिहानै कालीमाटी पुगेका उनले त्यहाँ मानिसको बाक्लो भीड देखेका थिए। भीड देखेर आक्रोशित भएका उनले कालीमाटीमा खुद्राव्यापार बन्द गर्न निर्देशन दिएका छन्।

उनले त्यहाँ उपस्थित व्यापारीलाई दुई हप्ता काठमाडौंमा अझै निषेध आदेश कडा हुने भएकाले सबैलाई नियम पालना गर्न निर्देशन दिएका थिए।
'दिनकै मानिस मरिरहेका छन्। यहाँ यस्तो भीडभाड किन? खुद्रा पसल बन्द गर्नुस्। यहाँबाट थोक बिक्रेता एक जना मात्रै बसेर बिक्री गर्नुस्। हैन भने त्यसमा पनि कडाइ गरिने छ', उनले भने, 'स्कुल, कलेज, प्लेन, बजार सबै बन्द छन्। तपाईहरू मात्र समस्यामा पर्नु भएको होइन। यो सावधानी अपनाउने बेला हो। सबैले सावधानी अपनाऔं।'
तर, अधिकारीसँग त्यहाँका व्यापारीले सहज रुपमा व्यापारको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए।




