काठमाडौं– प्रधानमन्त्री केपी ओलीले धरहरा तयार भएरै उद्घाटन गरिएको दाबी गरेका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘धरहरा तयार नभई म टुप्पोमा कसरी पुगें त? म लिफ्ट चढेरै गएको हुँ। त्यो त बाहिरबाटै देखिन्छ। बीसौं तलामा पुगेर मैले पुष्पवृष्टि गरेको थिएँ। धरहरा बनेको छ, भ्रममा नपरौं। कार पार्किङ, बगैंचा बेग्लै कुरा हुन्। धराहर बेग्लै हो। धरहरा उद्घाटन भएको परैबाट देखिन्छ। त्यसमा दुःख मनाऊ किन?’
प्रधानमन्त्रीले थपे, ‘एक जना मित्रसँग होटलमा भेट भएको थियो। उहाँ नपुगुन्जेल धरहराबाट हेर्दै थिएँ। मैले यहाँबाट पनि राम्ररी देखिँदो रहेछ भनेर सामान्य कुरा गरेको थिएँ। उहाँले धरहरा देखाएर भाषण गर्नुभयो भन्नुभएछ।’
एमालेका अध्यक्षसमेत रहेका ओली र वरिष्ठ नेता माधवकुमार नेपालले केही दिनअघि काठमाडौंको एक होटलबाट सँगै धरहरा नियालिरहेको तस्बिर सार्वजनिक भएको थियो।