काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत नदिए संसद् विघटन गर्ने चेतावनी दिएका छन्।
विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा दलका प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विश्वासको मत नपाए संसद् विघटन गर्ने संकेत गरेका हुन्।
उनले भने, ‘डेढ वर्षमा त चुनाव हुन्छ। त्यति बेला संसद्को हत्या गरेको हो? संविधान बनाउँदाको मर्म सम्झनुभयो? ठिक छ, पाँच वर्ष चलाऔं न त। त्यसकै लागि मैले विश्वासको मत मागेको छु। किन राजीनामा नदिएको भन्दा पाँचै वर्ष चलाउन। कुरो स्पष्ट छ, पटक पटक अस्थिरता ननिम्त्यिाऔं। मत दिनुभयो भने संसद् विघटन हुँदैन। आफैं मत नदिएर विघटनतिर धकेल्ने अरुलाई दोष लाउने? भिरबाट हामफाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने? भाषा एउटा काम अर्को, व्यवहार एउटा कुरा अर्को नगरौं। संसद् बचाऔं भोट दिऔं।
ओलीले अगाडि भने, ‘विश्वासको मत संसद्बाहिर गरेजस्तो हल्ला होइन। संसदभित्रको अभ्यास हो। ममाथिको विश्वास छैन भने मैले मार्गप्रशस्त गर्नुपर्छ। मैले सरकारको नेतृत्व गर्न योग्य छ कि छैन, संसद्ले मार्गप्रशस्त गरोस्। म सहमति, सहकार्य र स्थिरतापूर्वक देश अघि बढाउनका लागि यहाँ आएको हुँ। सबै पक्षलाई मिलाएर लैजान्छु भनेर यहाँ आएको छु। त्यसैले विश्वासको मत मागेको हुँ। अलि अलि परिस्थिति मैले पनि बुझेको छु। कसको उपस्थिति छ कसको छैन बुझेको छु। फेरि विघटनका लागि त होइन भन्ने शंका पनि आए। त्यस्तो हो भने भोट हालिदिनुस् न।
माओवादी केन्द्रका अध्यक्षले भन्नुभयो, समर्थन दिएकै थिएन। तर चार दिनअघि चाहिँ के फिर्ता लिएको? नदिएको चिज फिर्ता लिनुभयो भने तपाईंले केही अतिरिक्त केही कुरा लानुभयो। अस्ति के फिर्ता लानुभयो भनेर म अलमलमा परेको छु। वैकल्पिक सरकार पनि दिन तयार नहुने, अविश्वासको प्रस्ताव पनि नदिने। काम गर्न समर्थन पनि नदिने। बहुमत छ आफूसँग कसरी राजीनामा दिने? मैले अढाइ महिनासम्म पर्खिएँ, अविश्वासको प्रस्ताव आउँदैन।
काठमाडौंमा उत्तरदेखि दक्षिणसम्म विरोध छ। यतादेखि उतासम्म दौडधुप चलिरहेको छ। मैले विश्वासको मत लिन खोजेपछि दौडधुप चलेको छ। विरोध गरेको छ, विकल्प दिएको छैन। मैले अस्थिरता नहोस् भनेर विश्वासको मत लिन खोजेको हुँ। आज यस सदनमा उपस्थित दलहरुको हातमा छ। हामीले स्थायित्व र सहकार्य चाहेको हो भने त्यसअनुसारको बाटो लागौं। सहमति नभए संविधानको बाटो खोज्ने हो।’