काठमाडौं- जनता समाजवादी पार्टी जसपाका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन्।
विश्वासको मत लिने प्रयोजनका लागि बसेको संसदको विशेष बैठकमा नेता यादवले प्रधानमन्त्रीले के विश्वासिलो काम गरेका छन् र विश्वासको मत दिनुपर्ने भन्ने प्रश्न उठाए।
उनले प्रधानमन्त्रीले मधेश आन्दोलनका क्रममा मधेसको अपमान गरेको, ओलीकै पालामा मधेशमा धेरै युवाले गोली खाएको, मधेश आन्दोलनका क्रममा बनाइएको मानव साङ्लोलाई माखे साङ्लो भनेको स्मरण गरे।
ओलीले संसदको विधेयक अधिवेशनलाई छलेको, सभामुखलाई थाहै नदिई अधिवेशन अन्त्य गरेको तर संसद नभएको बेला अध्यादेशको अध्यादेश ल्याएको भन्दै यसलाई स्वेच्छाचारी र निरंकुशताको पराकाष्ठा भएको बताए।
उनले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारले देशलाई नै लज्जित बनाएको बताए। उनले भने, ‘नेपाल यस्तो देश हो जहाँ सरकारले नै भ्रष्टाचारको ढाकछोप गर्छ’
यादवले ओलीले विभिन्न आयोजनाहरुको शिलान्यास गरिरहेको भन्दै भने, ‘आयोजनाको अत्तोपत्तो छैन हजारहजार शिलान्यास भइरहेको छ, काम सम्पन्न नभएका आयोजनाहरुको उद्घाटन भइरहेको छ, यस्तो पनि हुन्छ ? अनकम्प्लिट आयोजनाको उद्घाटन गर्न मिल्छ ? त्यस्तो विकास र शिलान्यासको अर्थ रहन्न प्रधानमन्त्री ज्यू।’
यादवले ओलीले संघीयतालाई कमजोर पार्ने काम गर्दै गएको बताए।