काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
संसद्को विशेष अधिवेशनमा सोमबार सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत प्राप्त नगर्ने थाहा हुँदाहुँदै पनि विश्वासको मत लिन खोजेको बताए।
दाहालले भने, ‘विपक्षमा मत आउँछ भन्ने बुझ्दाबुझ्दै पनि विश्वासका निम्ति अपिल गर्नु प्रधानमन्त्रीको लोकतान्त्रिक अधिकार हो। तर तपाईंको नेतृत्वमा सरकार गठन भएपछिका गतिविधिका कारण तपाईंले विश्वासको मत पाउने अवस्था छैन। मैले संसद् पुनः स्थापना हुनेबित्तिकै राजीनामा दिन आग्रह गरेको थिएँ। अहिले पनि तपाईंलाई म आग्रह गर्छु, राजीनामा दिई नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नुहोस्।’
कोरोना महामारीको प्रसंगबाट सम्बोधन सुरु गरेका प्रचण्डले सामूहिक प्रतिवादबाट मात्र महामारीको सामना गर्न सकिने बताए।
प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि बोलाएको प्रतिनिधिसभाको बैठक अहिले जारी छ।